
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार तियानजिनबाट रेलमार्ग हुँदै राजधानी बेइजिङ पुगेका छन् ।
शंघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तियानजिनबाट रेलमार्गमार्फत बेइजिङ पुगेको हो ।
प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित दोस्रो विश्वयुद्धमा फासिवादविरुद्धको विजय र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
समारोहको विशेष आकर्षणका रूपमा चिनियाँ सेनाले आयोजना गर्ने भव्य सैन्य परेडसमेत रहनेछ, जुन अवसरमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग संयुक्त रुपमा देखिनेछन् ।
प्रधानमन्त्री ओलीले सोही दिन (बुधबार) नेपाल फर्किने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



























