प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनको तियान्जिनमा सम्पन्न भेटवार्तालाई नेपालको कूटनीतिक क्षेत्रमा महत्वपूर्ण र उपलब्धिमूलक कदमको रूपमा हेरिएको छ ।
शंघाई सहयोग संगठन (एससीओ) को बैठककै अवसरमा भएको यो उच्चस्तरीय वार्ता करिब २५ मिनेट एक्लाएक्लै संवाद र पौने घण्टा सरकारी टोलीसहितको छलफलमा केन्द्रित रह्यो। भेटले दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई पुनः पुष्टि गर्दै भावी सहकार्यका नयाँ आयामहरू खोल्ने संकेत दिएको छ।
राष्ट्रपति पुटिनले सन् १९५६ मा नेपाल–रुसबीच स्थापना भएको कूटनीतिक सम्बन्धको स्मरण गर्दै आउँदो ७०औं वार्षिकोत्सव भव्य रूपमा मनाउने प्रस्ताव राखे। उनले नेपालसँगको सम्बन्ध सधैं विश्वास, सम्मान र स्थायित्वमा आधारित रहेको उल्लेख गर्दै भावी साझेदारीप्रति आशावादी दृष्टिकोण व्यक्त गरे ।
दुई नेताबीच अन्तर्राष्ट्रिय एजेण्डामा धारणा मिल्ने कुरामा समेत सहमति देखिएको थियो । पुटिनले भने, “नेपाल र रुसबीच कहिल्यै कुनै समस्या देखिएको छैन, हामी कूटनीतिक रूपमा समान सोच राख्छौं ।”
प्रधानमन्त्री ओलीले वार्ताको क्रममा नेपालमा रुसमा अध्ययन गरेर फर्किएका हजारौं चिकित्सक, इञ्जिनियर र स्वास्थ्यकर्मीहरूको योगदानको चर्चा गरे। उनले रुसका विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको ऐतिहासिक योगदान स्मरण गर्दै शिक्षाका क्षेत्रमा सहकार्य विस्तारको आग्रह गरे।
राष्ट्रपति पुटिनले पनि रुसमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूलाई “दोस्तीका सेतु” को संज्ञा दिँदै शिक्षा र संस्कृति क्षेत्रमा सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाए। उनले भने, “रुसमा अध्ययन गरेका नेपालीहरू जब फर्कन्छन्, उनीहरूले रूसको राम्रा सम्झना लिएर आउँछन् र यी सम्झनाहरू नेपाल–रुस सम्बन्धको सेतु बन्छन् ।”
प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिए । प्रधानमन्त्री ओलीले नेपालतर्फबाट आफू स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको र सो अवसरमा मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गरेर रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको स्मरण गरे ।
ओलीले भने, “१९५६ देखि सुरु भएको हाम्रो सम्बन्ध आजसम्म पनि सदैव मैत्रीपूर्ण रहँदै आएको छ, तर के कारणले हो, अहिलेसम्म रुसबाट उच्चस्तरीय भ्रमण भएको छैन।” यसमा सकारात्मक प्रतिक्रिया जनाउँदै पुटिनले अनुकूल समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।
साथै, राष्ट्रपति पुटिनले प्रधानमन्त्री ओलीलाई पनि रुस भ्रमणका लागि स्वागत गर्न तयार रहेको बताए। “हामी तपाईंलाई रुसमा स्वागत गर्न सदैव तयार छौं,” उनले स्पष्ट पारे ।
भ्रमणमा सहभागी एक सरकारी अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले रुस–नेपालबीच सिधा हवाइ उडान सुरु गर्ने प्रस्ताव पनि राखेका थिए। यो प्रस्तावले व्यापार, पर्यटन र जनस्तरको आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीचको भेट नेपाल–रुस सम्बन्धमा नयाँ ऊर्जा र दिशाको संकेत हो । शिक्षा, स्वास्थ्य, संस्कृति र सम्भावित प्रत्यक्ष उडानमार्फत जनस्तरको सम्बन्धलाई मजबुत बनाउने कार्य प्रारम्भिक चरणमा पुगेको छ ।
राष्ट्रपति पुटिनको सम्भावित नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक मोड ल्याउनेछ भने यो उच्चस्तरीय संवादले नेपाललाई दक्षिण एशियामा अझ मजबुत कूटनीतिक उपस्थिति बनाउने अवसर प्रदान गर्न सक्छ ।

























