सिमरा । बाराको पथलैया-सिमरा सडकखण्डमा आइतबार दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका-७ परसवाका २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका-७ का २८ वर्षीय महेश पण्डित रहेका छन्।
चौधरीको प्रादेशिक अस्पताल कलैया र पण्डितको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो। मृतक दुवै मोटरसाइकल चालक हुन्। सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नम्बरको मोटरसाइकल र पथलैयाबाट सिमरातर्फ आउँदै गरेको बा.प्र. ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित पानीटंकी नजिक एकआपसमा ठोकिएको हो। पण्डितले १७५३ र चौधरीले ६७९४ नम्बरको मोटरसाइकल चलाएका थिए।
दुर्घटनामा ६७९४ नम्बरको मोटरसाइकलमा सवार ३४ वर्षीय भूपेन्द्र चौधरी घाइते भएका छन्। चौधरीको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
























