काठमाडौं । सीमा क्षेत्रमा राजस्व संकलन र तस्करी नियन्त्रणमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपालले एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले एकैपटक १ प्रहरी उपरीक्षक (एसपी), १ प्रहरी नायब उपरीक्षक (डीएसपी), ७ निरीक्षक (इन्स्पेक्टर), ६ नायब निरीक्षक (सई) र १ सहायक निरीक्षक (असई) गरी १६ जनालाई कमान्ड पदबाट हटाएको हो। यो निर्णय राजस्व संकलन तथा कार्यसम्पादन कमजोर देखिएको आधारमा गरिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, रौतहटस्थित नं. ११ गणका कमान्डर सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई फिर्ता बोलाएर उनको स्थानमा रामहरी अधिकारीलाई पठाइएको छ।
जिम्मेवारीमुक्त गरिएका अन्य प्रमुख अधिकृतहरूमा यस्ता छन्:
- बारा जिल्ला: निरीक्षक जीवनलाल बुढा (कबहीगोठ बीओपी), नायब निरीक्षक केदारबहादुर परियार (झिटकैया बीओपी), हरिप्रसाद लम्साल (बलिरामपुर सुरक्षा बेस), गणेश गिरी (छतवा सुरक्षा बेस), सहायक निरीक्षक शिवशंकरप्रसाद चौधरी (झरखोर पोस्ट)
- पर्सा जिल्ला: निरीक्षक सञ्जीव बानियाँ क्षेत्री (प्रसौनी भाठ्ठा बीओपी), निरीक्षक नरेश सुवाल (दक्षिण झिटकैया बीओपी), नायब निरीक्षक भीमबहादुर क्षेत्री (बहुअर्वाभाठा सुरक्षा बेस), झक्कुप्रसाद ओली (जयमंगलापुर सुरक्षा बेस)
- पश्चिम नवलपरासी: निरीक्षक रुपक नापीत (भुजहवा बीओपी)
- कैलाली जिल्ला: नायब उपरीक्षक नवीन चन्द (प्रस्तावित खोनपु सीमा सुरक्षा गुल्म), निरीक्षक रामशरण विष्ट (कुसुमघाट बीओपी), निरीक्षक खगेन्द्र बहादुर चन्द (फूलबारी बीओपी)
- कञ्चनपुर जिल्ला: निरीक्षक सूर्यप्रकाश पन्त (डोकेबजार बीओपी)
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा कार्यरत कमान्डरहरूलाई थप निगरानीमा राख्ने नीति अपनाएको छ। स्रोतका अनुसार, यसअघि पनि असन्तोषजनक प्रदर्शन गर्ने दर्जनौं अधिकृत समय नपुग्दै हटाइएका वा कारबाहीमा परेका थिए।
मुख्यालयले अन्य प्रदेशमा समेत निगरानी कडाइ गरेको छ भने गण, गुल्म तथा सीमा सुरक्षा चौकी (बीओपी) मा कार्यरत अधिकृतहरूको कार्यसम्पादन गहिरो रूपमा मूल्यांकन गर्न थालिएको छ।
























