काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानजिनस्थित जिनान जिल्लाको सिआओझानमा रहेको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।
प्रधानमन्त्री ओली हाल सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको भ्रमणमा छन्। भदौ १४ गते चीन पुगेका ओलीले सोही दिन चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति सीको निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण जारी छ, र उनी बुधबारसम्म चीनमै रहनेछन्।
प्रतिनिधि सभामा आफ्नो भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने बताएका थिए ।
हिजै चिनियाँ राष्ट्रपति सीसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेक क्षेत्रलाई भारत र चीनबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिको विषयमा नेपालको गम्भीर आपत्ति रहेको स्पष्ट पारेका थिए ।

























