थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।
सांघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन्।
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।
यसैबीच चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे कुरा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा ओलीले स्पष्टरुपमा आपत्ति जनाएका हुन् ।
त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ।
भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको राईको भनाइ छ ।
























