काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यो उपनिर्वाचन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने प्रदेशसभा क्षेत्र नं. २ मा हुनेछ। यस क्षेत्रका प्रतिनिधि राजीव गुरुङ (दीपक मनाङे) को पद सर्वोच्च अदालतको फैसला मार्फत रिक्त भएकाले आयोगले निर्वाचनको मिति तय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, गुरुङले नेपालको संविधानको धारा १७८ (१)(ङ) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(छ) अनुसार उम्मेदवार बन्न अयोग्य ठहर भएकाले उनको पद स्वतः रिक्त भएको हो।
यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट नं. ०७९-WC-००४४ अन्तर्गत २०८२ असार ४ गते फैसला गर्दै गुरुङ योग्यता नपुगेको ठहर गरेको थियो। सोही अनुसार गण्डकी प्रदेशसभा सचिवालयले ०८१/७/२० मा पद रिक्त भएको जानकारी दिएको हो।
संविधानको धारा १७६(८) अनुसार, प्रदेशसभाको कार्यकाल सकिन ६ महिनाभन्दा बढी बाँकी रहेका बेला स्थान रिक्त भएमा उही निर्वाचन प्रणालीमार्फत पद पूर्ति गर्नुपर्ने व्यवस्था छ।
यस उपनिर्वाचनका लागि कात्तिक १७ गते सोमबार मतदान हुने छ। मतदाता नामावलीको हकमा आयोगले यसअघि रूपन्देही-३ का लागि तोकिएको मितिअनुसार २०८२/०५/२५ मा प्रकाशित अन्तिम मतदाता नामावली नै प्रयोग गरिने जनाएको छ। मतदाताको उमेर गणना गर्ने कट–अफ मिति कात्तिक १६ गते रहनेछ।
निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।

























