काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि १८ सम्म गर्ने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङलगायतसँग भेटवार्ता गर्ने तय भएको छ ।
ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने छन् । सो शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् ।
त्यस्तै जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेडमा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मालगायत रहनेछन् ।
























