काठमाडौं । अछाम जिल्लामा महिनावारी (छाउ) बार्न खेतमा पाल टाँगेर सुतिरहेका बेला भीरबाट खसेको ढुङ्गाले लाग्दा दुई जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएकी छन् ।
पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५:३० बजे पहिरोसँगै खसेको ठूलो ढुङ्गाले त्रिपालमुनि सुतिरहेकाहरूलाई च्यापेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घटनामा ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। कविता भण्डारी स्थानीय गोरे भण्डारीकी छोरी हुन्।
सोही घटनामा गम्भीर घाइते भएकी ३६ वर्षीया रत्ना भण्डारी, जो मृतक कविताकी आमा हुन्,लाई टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारपछि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
अविरल वर्षाका कारण पहाडबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरूलाई थिचेको बताइएको छ। मृतक महिलाहरू माइतीघर गएका बेला महिनावारी भएपछि घरमा नबस्ने परम्पराका कारण खेतमा पाल टाँगेर सुतेका थिए।
रत्ना भण्डारीकी छोरी कविता आमासँगै सुतिरहेकी थिइन्। ढुङ्गाले च्याप्दा आमाछोरीमध्ये छोरीको मृत्यु भयो भने आमा गम्भीर घाइते भएकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























