विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’प्रति संकेत गर्दै पार्टीभित्र ‘स्वार्थ समूह’ सक्रिय रहेको टिप्पणी गरेका छन् ।
बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको मूल लाइन, सिद्धान्त, पद्धति र नेतृत्वभन्दा बाहिर रहेर स्वार्थमा केन्द्रित समूह बनेको आरोप लगाउँदै त्यस्ता गतिविधिलाई आफूले ‘स्वार्थ समूह’को रूपमा व्याख्या गरेको बताए ।
पत्रकारले ‘तपाईंलाई आफ्नै मान्छेले पत्याएका छैनन् भने अरू कसरी पत्याउँछन् ?’ भनेर प्रश्न गर्दा प्रचण्डले ती टिप्पणीलाई महत्व नदिँदै भने, ‘एक जना प्रभाकरले नपत्याएको भन्दै पार्टीको आन्दोलन वा इतिहास रोकिन्न। स्थायी समितिको बैठकले पनि यही कुरा प्रष्ट पारेको छ ।’
जनार्दन शर्माले पार्टी नेतृत्वमाथि हालै सार्वजनिक टिप्पणी गरेपछि उत्पन्न विवादबारे प्रचण्डले आउँदो पदाधिकारी बैठकमा समीक्षा हुने जानकारी दिए ।
तर, समीक्षा कस्तो हुने भन्नेमा भने उनले स्पष्ट धारणा नदिँदै त्यसबारे निर्णय समीक्षा पछि मात्र सार्वजनिक गरिने बताए। कारबाही हुने वा नहुने भन्ने प्रश्नमा समेत उनले तत्काल केही भन्न अस्वीकार गरे।

























