काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुट–उपगुटको गतिविधिबाट टाढा रहन र संगठन विस्तारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीप्रति जनताको विश्वास पुनः बढ्दै गएकाले पार्टीलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको दाबी गरे।
‘माओवादीको लोकप्रियताले प्रतिक्रियावादी र दलालहरू आतंकित छन्,’ उनले भने, ‘त्यही कारण पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू चलिरहेका छन्।’
उनले स्थायी समितिले गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प गरिसकेको स्मरण गराउँदै त्यसैअनुसार सबै प्रदेशस्तरीय नेता–कार्यकर्ताले काम गर्नुपर्ने बताए।
पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले गठबन्धन बनेको अवस्थामा पनि—माओवादी केन्द्र निकट उम्मेदवारले विजय हात पारेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई जनविश्वास पुनः प्राप्त हुँदै गएको संकेतको रूपमा प्रस्तुत गरे।
स्थानिय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी समर्थित उम्मेदवारले जित निकालेको स्मरण गर्दै उनले भने, ‘यी जितहरूले जनतामा पार्टीप्रतिको भरोसा कायम भइरहेको पुष्टि गर्छ।’
शिक्षा विधेयकलगायत राष्ट्रिय मुद्दाहरूमा माओवादी केन्द्रले लिएको अडानले विशेषगरी शिक्षक समुदायमा पार्टीप्रतिको समर्थन बढेको दाबी गर्दै प्रचण्डले भने, ‘कांग्रेस र एमालेको गलत सोचविरुद्ध हामीले लिएको स्पष्ट अडानका कारण लाखौँ शिक्षकले हाम्रो पक्षमा समर्थन देखाएका छन्।’
उनले वाईसीएल, विद्यार्थी संगठन र अन्य जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्ने अभियान सफल बन्दै गएको बताए। अब संगठन विस्तारलाई तीव्र गर्दै घर–घर र टोल–टोलमा संगठन निर्माणमा लाग्नुपर्नेमा पनि उनले जोड दिए।
अन्त्यमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई पार्टी एकता, अनुशासन र संगठन विस्तारमा थप क्रियाशील हुन निर्देशन दिए।
























