काठमाण्डाै । देशभर झन्डै ९५ प्रतिशत धान रोपाइँ भएको छ । हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार देशभर ९४ दशमलव ९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
गएको वर्ष भदौ ७ गतेसम्म ९८ शदमलव ५४ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । मधेशमा अहिलेसम्म ८६ दशमलव ३५ प्रतिशतमात्रै रोपाइँ भएको छ । गएको वर्ष भदौ ७ गतेसम्म मधेशमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा भने झन्डै शतप्रतिशत रोपाइँ भएको छ । भदौ ८ गते अर्थात् हिजोसम्म सुदूरपश्चिममा ९९ दशमलव ७२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सकिएको छ ।
यस वर्ष समयमा वर्षा नहुँदा मधेशमा रोपाइँ कम भएको हो । (रासस)

























