काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणका लागि नयाँ संकल्प आवश्यक रहेको बताएका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीलाई सुदृढ गर्न ठोस लक्ष्य, नीति र कार्यदिशासहित अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसमक्ष खनालले १०औं महाधिवेशनले पारित गरेको दस्तावेज अहिलेसम्म प्रकाशित नगरेकोप्रति गम्भीर प्रश्न उठाए।
उनले भने, ‘१०औं महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेको छ, तर अहिलेसम्म त्यो सार्वजनिक गरिएको छैन। यो कसको कमजोरी हो भन्ने प्रश्न उठ्छ। यस्तो दस्तावेज प्रकाशित हुनुपर्छ, जसबाट समाजवादप्रतिको हाम्रो मार्गदर्शन स्पष्ट हुन्छ।’
खनालले नेपाली समाजवादको अवधारणा मार्क्सवादमा आधारित रहेको स्पष्ट पार्दै, पूँजीवादी संरचनालाई विस्थापन गरी समाजवादी समाज निर्माण गर्नु पार्टीको मुख्य उद्देश्य हुनुपर्ने बताए।
उनले भने, ‘हामी अहिले पूँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर समाजवादतर्फ जानुपर्छ । त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाहरूको स्पष्ट खाका तयार पार्नुपर्छ। नीति, कार्यदिशा र सिद्धान्तमार्फत त्यो लक्ष्य हासिल गर्न सकिन्छ।’
उनले पार्टीको मूल अन्तर्विरोध चिनेर त्यसप्रति सशक्त प्रहार गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
























