काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि निर्वाचनको मिति तय भएको छ।
संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते (बुधबार) निर्वाचन मिति तोकेको जनाइएको छ।
सभापति पदका लागि नेपाली कांग्रेसका चार सांसदको नाम चर्चामा आएको छ। तीमध्ये दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ। अरू आकांक्षीमा अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानी छन्।
२७ सदस्यीय समितिमा कांग्रेसका ९ जना सांसद छन् भने एमालेका ६ जना। एमालेले सभापति चयनमा कांग्रेसलाई सघाउने बताउँदै आएको छ। दुई दल मिल्दा १५ जना सांसदको समर्थन जुट्नेछ, जुन बहुमतका लागि पर्याप्त छ।
सत्तापक्षमै पर्ने लोसपाका सर्वेन्द्र नाथ सुक्ला, जनमत पार्टीकी अनिता देवी र जसपाका अशोककुमार राई समितिका सदस्य रहेका छन्। ती सदस्यसहित सत्तापक्षको संख्या १८ पुग्छ, जसले सभापति निर्वाचनमा सहजता ल्याउने देखिन्छ।
कांग्रेसबाटै सभापति रहेका रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी विवादका कारण गत साउन २८ गते राजीनामा दिएपछि उक्त पद खाली भएको हो ।
कांग्रेसभित्रैबाट सभापति चयन गर्ने तयारी भइरहेको छ भने अन्तिम निर्णयका लागि पार्टी आन्तरिक छलफलमा जुटिरहेको छ।
























