
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार बिहान भेटवार्ता भएको छ।
प्रचण्ड विप्लवलाई भेट्न हरिसिद्धिस्थित उनको निवासमै पुगेका हुन्। प्रचण्डको सचिवालयका अनुसार भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा र सम्भावित पार्टी एकताबारे आधा घण्टाभन्दा बढी समय गम्भीर छलफल भएको थियो।
माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेपछि भेटघाटको पहल गरिएको हो।
पहिल्यैदेखि पार्टी एकताको चर्चा चलिरहे पनि औपचारिक वार्ताबिना माओवादीको निर्णयले विप्लव असन्तोष देखिएका थिए । यही असन्तोष समाधान गर्दै एकता प्रक्रिया अगाडि बढाउन प्रचण्ड स्वयं विप्लव निवासमा पुगेका हुन्।

























