काठमाडौँ । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार आइतबार पुनरावेदन निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका अर्यालसहित १२ जनाविरुद्ध सुरक्षा मुद्रण केन्द्रमार्फत अन्त:शुल्क स्टिकर छपाइ प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।
अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले अर्यालसहित केही आरोपितलाई सफाइ दिएको थियो। उक्त फैसलाबाट असन्तुष्ट हुँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

























