काठमाडौँ । नेपालसँगको हवाई सम्पर्क विस्तार र पर्यटन प्रवर्द्धनका लागि भियतनाम सकारात्मक रहेको कुरा आइतबार काठमाडौँमा सम्पन्न द्विपक्षीय बैठकपछि सार्वजनिक गरिएको छ। भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा भियतनामी पक्षले हवाई सम्पर्क सुदृढीकरणप्रति चासो देखाएको हो।
काठमाडौँको होटल याक एन्ड यतिमा सम्पन्न वार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन, सांस्कृतिक सहकार्यलगायत विविध विषयमा छलफल भएको थियो। वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणपूर्वी एसिया–प्रशान्त महाशाखा प्रमुख प्रकाश अधिकारीले वार्ताको विवरण सार्वजनिक गरे।
अधिकारीका अनुसार दुवै पक्षले आपसी मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। उच्चस्तरीय भ्रमण आदानप्रदान, सांस्कृतिक तथा धार्मिक सहकार्य, डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनका विषयमा समेत विस्तृत छलफल भएको जानकारी दिइयो।
“सांस्कृतिक र धार्मिक समानताका कारण बुद्ध धर्मले दुई देशबीच सम्बन्धको सेतुको भूमिका खेलेको छ,” अधिकारीले भने, “धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा दुवै देशबीच ठूलो सम्भावना छ, र हवाई सम्पर्क विस्तारका लागि निकट भविष्यमा थप छलफल गरिने सहमति भएको छ।”
नेपालका उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआन नेपालको भ्रमणमा रहेकी हुन्। यो भ्रमण भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमणको रूपमा रहेको छ।
नेपाल आगमनपश्चात उपराष्ट्रपति सुआनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गरेकी थिइन्। सो अवसरमा मन्त्री राणाले भियतनामलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव राखेकी थिइन्।
उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ। उनी सोमबार स्वदेश फर्किनेछिन्।

























