काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले आइतबार नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भियतनाम भ्रमणको निम्तो दिएकी छन्।
काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा उनले उक्त निम्तो दिएकी हुन्।
नेपालका उपराष्ट्रपति यादवले निम्तोप्रति आभार व्यक्त गर्दै उपयुक्त समयमा भ्रमण गर्ने प्रतिबद्धता जनाए।
सुआनको नेपाल भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको अवसरमा भएको हो। नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापन भएको थियो।
वार्तामा व्यापार, लगानी, जलविद्युत् तथा सांस्कृतिक सहकार्यलगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो।
भियतनामकी उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। भोलि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुका साथै काठमाडौँ र ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ।
हाल नेपाल र भियतनामबीचको वार्षिक व्यापार १०० मिलियन अमेरिकी डलरभन्दा कम रहेको तथ्याङ्क छ। भविष्यमा दुई देशबीचको आर्थिक तथा सांस्कृतिक सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।
























