
रौतहट । रौतहटको गौर नगरपालिका–९ मा रहेको गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ । मृतक २६ वर्षीया रुवीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले पुष्टि गरेका छन्।
शनिबार राति करिब ९ बजे दिव्यज्योति स्कुलको गेट नजिकै शंकास्पद ठूलो सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सुरक्षाको दृष्टिले रातभर घटनास्थल सुरक्षित राखिएको र आइतबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीको उपस्थितिमा सुटकेश खोल्दा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
रुवीकुमारी रौतहटको माधवनारायण नगरपालिका–२ महादेवपट्टीकी हुन्। उनको विवाह भारतको मुजफ्फरपुरमा भएको भए पनि हाल माइती घरमै बस्दै आएकी थिइन्। गौरमा डेरा लिएर बच्चा पढाउने उद्देश्यले बसोबास गरिरहेकी उनी दुई दिनदेखि सम्पर्कविहीन भएपछि आमाले प्रहरीमा खोजतलासको निवेदन दिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको घाँटी कसेर हत्या गरिएको अनुमान गरिएको छ। यद्यपि, हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको छ।

























