काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाउने भारतीय र चिनियाँ गतिविधिलाई हस्तक्षेपकारी षड्यन्त्रका रूपमा चित्रित गर्दै शनिबार विरोध प्रदर्शन गरेको छ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि गरिएको प्रदर्शनमा सहभागीहरुले नेपाली भूमिमाथिको अतिक्रमण रोक्न माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सरकार सधैं कूटनीतिक पहलको कुरा मात्र गर्ने तर व्यवहारमा ठोस कदम नचालेको आरोप लगाए। उनले लिपुलेकको मुद्दा गम्भीर विषय भएकाले सरकारले यसलाई प्राथमिकतामा राखी छलफलको एजेन्डा बनाउनुपर्ने बताए।
शाहका अनुसार, यसअघि पटक–पटक विदेश सचिवस्तरीय समिति बने पनि अन्तिममा भारतले छलफलबाट पन्छिने गरेको छ। उनले भने, “सरकारले कूटनीतिक पहल गर्ने कुरा मात्र गरेर हुँदैन, गम्भीर भएर ठोस कदम चाल्न आवश्यक छ।”

























