काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकसम्बन्धी चीन र भारतबीचको सहमति नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथिको सिधा प्रहार भएको कडा टिप्पणी गरेको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएपछि आकस्मिक समयमा बोल्दै पार्टीका सांसद जगप्रसाद शर्माले लिपुलेक प्रकरणलाई केवल भूमि अतिक्रमणको विषय नभई राष्ट्रको अस्तित्वसँग जोडिएको गम्भीर मुद्दा भएको बताए ।
“यो केवल भूमि अतिक्रमण होइन, यो नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिको सिधा प्रहार हो,” सांसद शर्माले भने, “यो आखाँ झिम्क्याएर हेर्ने विषय होइन, यो इतिहासको दोसाँधमा उभिएको राष्ट्रप्रेमको निर्णायक घडी हो ।”
उनले ऐतिहासिक प्रमाणहरूले लिपुलेक क्षेत्र नेपालको भूमि रहेको स्पष्ट देखाउँदा पनि भारत र चीनले आपसी सहमति गर्नु दुःखद भएको बताए ।
शर्माले सरकारले यो विषयमा संसदको साथमा दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। “सरकारले संसदलाई साथ लिएर स्पष्ट कूटनीतिक पहल गर्नुपर्छ, अन्यथा जनताबाट, सडकबाट आवाज उठ्नेछ,” उनले चेतावनी दिए ।
























