काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना राष्ट्रहरूलाई हेप्ने प्रवृत्तिको विरोधमा नेपाल दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भारत र चीनले नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक नाका बनाउने गरी गरेको सम्झौता सन्दर्भ उठाउँदै साना मुलुकप्रति देखिएको दादागिरीको विरुद्धमा नेपालले चुप बस्न नहुने बताए।
“ठूला राष्ट्रहरूको साना देशलाई हेप्ने प्रवृत्ति छ। त्यसको स्पष्ट विरोधमा हामी उभिनुपर्छ,” सांसद भट्टराईले भने।
उनले यसअघि पनि भारत र चीनले आपसी सम्झौता गर्दा नेपालले कूटनीतिक आपत्ति जनाएको प्रसंग स्मरण गराउँदै, भारतले नेपालको भूमिमा सेना राख्ने गतिविधि गरेको आरोपसमेत लगाए।
प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणमा यो विषय गम्भीरतापूर्वक उठाइनुपर्ने सुझाव दिंदै उनले स्थायी समाधानका लागि कूटनीतिक पहलमा दृढता देखाउनुपर्नेमा जोड दिए।
























