काठमाडौं । शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । सोअनुसार, भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।
भदौ ११ देखि २० गतेसम्म केन्द्रस्तरमा सबै राजनीतिक दलका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइनेछ र सोही स्थानमा दुई घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, भदौ १३ गते देशभरका सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका शिक्षा समन्वय एकाइहरूमा प्रतिनिधिमूलक रूपमा ध्यानाकर्षण पत्र बुझाइनेछ। ती दिन पनि दुई घण्टा धर्ना गरिने महासंघले जनाएको छ।
महासंघले भदौ २१ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। दोस्रो चरणमा अवरोधात्मक गतिविधि, विरोध प्रदर्शनजस्ता कडा आन्दोलनात्मक कार्यक्रमहरू ल्याइने महासंघका नेताहरूले बताएका छन्।

























