काठमाडौँ । सरकारले विपिन जोशीको सकुशल रिहाइको लागि निरन्तर प्रयास गरिरहेको भए पनि हालसम्म उनको अवस्था खुल्न नसकेको स्पष्ट पारेको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको घटनामा हराइरहेका विद्यार्थी जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । जोशीको रिहाइका लागि भइरहेका कूटनीतिक प्रयासबारे मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विस्तृत विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार विपिन जोशीको आमा र बहिनी हाल इजरायलमा छन् र उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अमेरिकी राजदूत लगायत उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरी विपिनको रिहाइको माग उठाएका छन्। उक्त भ्रमणमा नेपाली दूतावासले पूर्ण सहजीकरण गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार विपिन जोशीको रिहाइलाई उच्च राष्ट्रिय प्राथमिकता दिइएको छ र विदेशस्थित सबै नेपाली दूतावासहरू सक्रिय रूपमा लागिपरेका छन्।
सरकारी प्रयासका मुख्य बुँदाहरू यसप्रकार छन्:
कूटनीतिक पहल
विदेशमा रहेका नेपाली राजदूतहरूलाई आफ्ना समकक्षीहरूसँग भेट गरी नेपाल सरकारको चासो बुझाउन निर्देशन दिइएको छ। कतार, इजिप्ट, इजरायल र अमेरिका लगायतका देशहरूमा यस्ता पहलहरू भइरहेका छन्।
अन्तर्राष्ट्रिय समन्वय
जेनेभास्थित नेपाली राजदूतले रेडक्रसका प्रमुखसँग भेट गरी विपिनको अवस्थाबारे छलफल गरेका छन्। इजरायल र कतारका नेपाली राजदूतहरू यस विषयलाई प्रमुख कार्यभारको रूपमा हेरेर निरन्तर लागिरहेका छन्।
मध्यस्थ राष्ट्रहरूसँग सम्पर्क
इजरायल–हमासबीच भएको अल्पकालीन युद्धविरामको स्वागत गर्दै नेपालले कतार, इजिप्ट र अमेरिका जस्ता मध्यस्थ राष्ट्रहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीहरूको सूचीमा समावेश गर्न बारम्बार आग्रह गर्दै आएको छ।
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका पहल
– राष्ट्रपति रामचन्द्र पौडेलले जर्मन र कतारी समकक्षीसँग जोशीको शीघ्र र सुरक्षित रिहाइको लागि आग्रह गरेका छन्।
– प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्ट र टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेर सहयोग माग गरेका छन्।
– सभामुख देवराज घिमिरेले अरब संसदका सभामुखलाई पत्राचारमार्फत समर्थन र पहलको अनुरोध गरेका छन्।
परराष्ट्रमन्त्रीको पहल
परराष्ट्रमन्त्री नारायणप्रसाद राणाले कतार, इजिप्ट, अमेरिका, इरान, टर्की लगायतका देशहरूमा समकक्षीहरूसँग फोन, पत्राचार र प्रत्यक्ष भेटघाटमार्फत पहल जारी राखेका छन्। कतिपय देशहरूलाई दोहोरो आग्रह समेत गरिएको छ।
निरन्तर एजेन्डा
विपिन जोशीको रिहाइको मुद्दा पछिल्ला सबै स्तरका द्विपक्षीय र बहुपक्षीय कूटनीतिक वार्ताहरूमा प्राथमिक एजेन्डाका रूपमा उठाइँदै आएको मन्त्रालयले जनाएको छ।
राजदूतहरूसँग समन्वय
काठमाडौँस्थित कतार, इजिप्ट, इजरायल, अमेरिका र युरोपेली मुलुकका राजदूतहरूसँग पनि सरकारले सक्रिय संवाद गर्दै सहयोग मागेको छ।
पूर्व परराष्ट्रमन्त्रीहरूको भूमिका
यसअघि रहेका दुई परराष्ट्रमन्त्रीहरूले पनि विपिन जोशीको मुद्दालाई प्राथमिकतामा राख्दै समाधान खोज्न पहल गरेका थिए।

























