काठमाडौँ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति नेपाल सरकार नेतृत्वकर्ता दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले आपत्ति जनाएका छन् ।
भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “नेपालको भूभागका विषयमा नेपालको सहमतिबेगर कुनै पनि सहमति वा सम्झौता नेपाललाई मान्य हुँदैन। यो सार्वभौम सच्चाइ हो।”
चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणको क्रममा भदौ ३ गते लिपुलेकलाई भारत–चीन व्यापारिक केन्द्र बनाउने सहमति भएको थियो।
यस सहमतिपछि बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको थियो। मन्त्रालयका अनुसार नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीको पूर्वपट्टि पर्ने, नेपालकै भूभाग हुन् भन्ने कुरा स्पष्ट गरिएको छ।
तर भारतले भने अझै नेपालले जारी गरेको नक्सालाई मान्यता दिएको छैन।
























