
काठमाडौं । काठमाडौं विश्वविद्यालयले रुपन्देहीको रोहिणी नदी किनारमा बन्न लागेको पेट्रोलियम भण्डारगृहको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाल आयल निगमलाई बुझाएको छ । बुधबार आयल निगमको एयरपोर्ट डिपो, काठमाडौंमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयको काठमाडौ युनिकन्सल्ट सेन्टरका तर्फबाट हेड अफ म्यानेजमेन्ट सर्भिस डिभिजनका प्रमुख नबेन्द्र पौडेलले भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवलाई डीपीआर हस्तान्तरण गरेका हुन् ।
रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा अब बन्न लागेको भण्डार गृहमा १३ हजार पाँच सय किलोलिटल डिजेल, चार हजार नौ सय ६० किलोलिटर पेट्रोल र दुई सय २८ किलोलिटर मट्टितेल अट्ने संरचनाका लागि डीपीआर तयार पारिएको परियोजना प्रमुख यादवले जानकारी दिए ।
साढे २५ विघा क्षेत्रफलमा आधुनिक सुविधा सम्पन्न इन्धन डिपोसहितको लुम्बिनी प्रादेशिक कार्यालय चालु आर्थिक वर्षबाट निर्माण कार्य प्रारम्भ हुन लागेको परियोजना प्रमुख यादवले बताएका छन् ।
उक्त भण्डारगृहमा पेट्रोलका लागि २१०० कि.लि. अट्ने क्षमताको दुईवटा भर्टिकल ट्यांक र ७६० कि.लि. क्षमताको एउटा भर्टिकल ट्यांक रहनेछन् । त्यस्तै, डिजेलका लागि ४५०० कि.लि क्षमताको तीनवटा भर्टिकल ट्यांक र मट्टितेलको लागि ७६ किलोलिटर क्षमताको तीनवटा भर्टिकल ट्यांक बन्नेछ ।
यसरी निर्माण हुने भण्डारण गृहमा लुम्बिनी प्रदेशको एक महिनालाई धान्ने माग बराबरको पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिनेछ । डिपोभित्र अग्नी सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुईवटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कुल ४,२०० किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा ८ बटा ‘वे’ र अनलोडिङ सेडमा पनि ८ वटा ‘वे’ निर्माण हुनेछ।
पूर्णरुपले अटोमेसनमा आधारित डिपो निर्माणका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीको लागि छुट्टाछुट्टै आवास गृह, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोष्ट, ट्यांकर पार्किङ क्षेत्रलगायतका संरचनाहरु डिपो हाताभित्र निर्माण हुने छ । यसका लागि कर वाहेक पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार नौ सय ४१ रुपैयाँ ५१ पैसा लागत अनुमान गरिएको परियोजना प्रमुख यादवले जानकारी दिएका छन् ।
हाल संचालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी (रुपन्देही) साँघुरो, घनाबस्ती बीचमा र बर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सरकार र आयल निगमले आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माणको आवश्यकता महसुस गरेर रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माण गर्ने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डीपीआर तयार गरिएको निगमले जनाएको छ ।
रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ। सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट आवश्यक पहलकदमी भइसकेको छ । जग्गा प्रवेश गर्ने मूलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा जग्गा प्राप्ति ऐन, ०३४ अनुसार प्राप्त गर्न प्रक्रिया थालनी भइसकेको छ । यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने प्रक्रिया अघि बढेको जनाइएको छ।
रोहिणी नदी किनारमा रहेको जग्गामा २०८१ साल बैशाख ५ गते ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसहितका जनप्रतिनिधिहरुको बाक्लो उपस्थितिमा भूमिपूजन गरी निर्माण कार्यको थालनी भएको थियो।
कार्यक्रममा विश्वविद्यालयका फाइनान्स डिपार्टमेन्टका प्रमुख कुमार बराल, काठमाडौं विश्वविद्यालयका पेट्रोलियम विज्ञ तथा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक ई. सुशील भट्टराई, काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी विभाग (काठमाडौं युनिकल्सन्ट) प्रमुख डा. विवेक बराल, काठमाडौं विश्वविद्यालय रिसर्च, डेभलपमेन्ट एण्ड इन्नोभेसन डिभिजन विभाग प्रमुख वृजेश अधिकारी, नेपाल आयल निगमका उपनिर्देशक रामहरी निरौलालगायत र निगमका विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो ।


























