काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल फर्किएपछि मात्र उनीविरुद्धको पदमुक्त प्रस्ताव अघि बढाउने सहमति सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छ।
हाल अमेरिका भ्रमणमा रहेकी राना यही भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि मात्र थप निर्णय लिइने नेताहरूले बताएका छन् । यसबीचमा प्रस्ताव दर्ताका लागि आवश्यक हस्ताक्षर संकलन जारी रहनेछ ।
बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभामुख हटाउने प्रयास तत्काल रोक्ने विषयमा छलफल भएको थियो ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार हाल संकलित हस्ताक्षर तत्काल प्रयोग नगर्ने निर्णय भएको छ। उनले भने, “हस्ताक्षर संकलन पुरानो अभ्यास हो, अहिले पनि त्यही प्रक्रिया दोहोरिएको हो ।”
हालसम्म कति सांसदको हस्ताक्षर संकलन गरिएको भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
नेपालको संविधानको धारा ९१(ग) अनुसार, पदअनुकूल आचरण नगरेको आरोपमा उपसभामुख हटाउन प्रतिनिधि सभामा दुई तिहाइ बहुमत आवश्यक पर्छ।
२७४ जना बहाल सांसद रहेको प्रतिनिधि सभामा प्रस्ताव दर्ताका लागि कम्तीमा ६९ सांसदको समर्थन आवश्यक हुन्छ ।
नेपाली कांग्रेस (८८) र नेकपा एमाले (७९) सँग मिलेर १६७ सांसदको संख्या पुग्छ। प्रस्ताव पारित गर्न भने १८३ सांसदको समर्थन चाहिन्छ।
सत्तापक्षमा रहेका जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), लोकतान्त्रिक समाजवादी पार्टी (४), नागरिक उन्मुक्ति पार्टी (४) लगायतका दलहरूसँग समन्वय गरेमा बहुमत पुग्न सक्ने छ ।
























