काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्नका लागि कुनै बाधा नरहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, विकास र आविष्कारलाई नेपालले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले नयाँ तरिकाले काम गर्न चाहने युवाहरूलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले विकास र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार तयार गरिसकेका छौं । लगानी गर्न र काम गर्न कुनै अवरोध छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । हामी उत्तर र दक्षिणतर्फ नयाँ सडक मार्गहरू निर्माण गर्दैछौं, अन्तर्राष्ट्रिय विमानस्थल थपिरहेका छौं । हरित ऊर्जा, मिथेन ग्यास र धौवादी फलाम उत्पादन गरेर प्रयोगमा ल्याइरहेका छौं । प्रविधिको रूपान्तरण भइसकेको छ । यी सबैको लक्ष्य विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्क भएर अगाडि बढ्नुहोस् र देशका लागि योगदान दिनुहोस् ।’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो । ८ गतेसम्म चल्ने शोको उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए । यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए ।
भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरे ।
त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए ।
शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्।

























