काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयासको कडा विरोध गरेका छन् । कांग्रेस र एमालेले यो कदम चालेर गल्ती गरिरहेको उनले बताए ।
मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको र गल्ती मात्रै गरिरहेको आरोप लगाएका छन् ।
उनले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई कुनै कारणबिना हटाउन खोज्नु गलत भएको तर्क गरे । प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएका आरोपहरू निराधार र कपोलकल्पित रहेको दाबी पनि गरेका छन् ।
























