धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ गठबन्धनको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
कैलालीको अत्तरियामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले हाल संविधान संशोधनको वातावरण नबनेको बताए। तर, आगामी महिनाहरूमा राष्ट्रिय सभामा रिक्त हुने सिटहरूमा गठबन्धनले बहुमत हासिल गरेपछि अनुकूल परिस्थिति बन्ने विश्वास व्यक्त गरे।
“संविधान संशोधनजस्तो विषयमा एकैपटक प्रवेश गर्न सकिँदैन। त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ,” उनले भने, “राष्ट्रिय सभामा हाल सरकार पक्षमा स्पष्ट बहुमत छैन। तर ५/६ महिनापछि १९ सिट खाली हुँदैछ। दुबै दल (एमाले–कांग्रेस) मिलेर सफलता हासिल गर्छौं र त्यसपछि संविधान संशोधन प्रक्रियामा प्रवेश गर्छौं।”
पोख्रेलले सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति अनुसार नै सरकारको कार्यदिशा अगाडि बढिरहेको स्पष्ट पारे।
























