काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन नआउने स्पष्ट पारेका छन्। उनले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै प्रस्ताव नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित मुलुकी संहिता दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि राज्यका सबै निकायले सन्तुलित रुपमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, “हामी कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने प्रक्रिया अगाडि बढाइरहेका छौँ। तर अब प्रतिगमनकारी कानुन आउन सक्दैन।”
संविधान जारीपछि संसदबाट पारित मुलुकी संहिता २०७४ भदौ १ गते २०७५ सालदेखि लागू भएको थियो। त्यसैको सम्झनामा आज मुलुकी संहिता दिवस मनाइएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कानुन निर्माणमा सुधार आवश्यक भए संशोधन गरिने स्पष्ट पार्दै भने, “मुलुकी संहितामा देखिएका केही कमीकमजोरीलाई सच्याउन सकिन्छ, तर बहुविवाहलाई कानुनी मान्यता दिन लागिएको भन्ने हल्लामा विश्वास गर्नु अनुचित हो। आजको समाजले यस्तो मान्यता दिन सक्दैन।”
उनले लोकतन्त्र केवल राजनीतिक अभ्यासमा सीमित नहुने बताउँदै सामाजिक समानता, न्याय र मानव अधिकार सुनिश्चित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।
“जनतालाई छिटो र सही न्याय दिन सबै निकायले गम्भीर भएर काम गर्नुपर्छ। सरकार त्यसमा साथ दिन तयार छ,” प्रधानमन्त्री ओलीले भने।
























