काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार उच्च प्राथमिकताका साथ हर सम्भव पहलमा जुटिरहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालय र खाडी क्षेत्रका नेपाली दूतावासमार्फत लगातार कूटनीतिक संवाद भइरहेको जानकारी दिएका छन् ।
“सरकार विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि कूटनीतिक तहमा सक्दो पहल गर्दैछ। यो हाम्रो उत्तरदायित्व हो,” प्रधानमन्त्री ओलीले लेखेका छन् ।
प्रधानमन्त्रीले विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी रिहाइका लागि आग्रह गरेको जानकारी पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार यसअघि उनले मध्यपूर्वमा शान्तिका लागि सक्रिय भूमिका निभाइरहेका नेताहरूसँग पनि कुराकानी गरिसकेका छन् । गत चैत ७ गते टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग फोन संवाद गर्दै उनले विपिनको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि इजरायलमा क्रियाशील नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

























