चितवन । चर्चित गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले गोरखाको आरुघाटमा केही समय व्यापार व्यवसाय गरेपछि २०१९ सालमा नारायणगढ झरेका थिए। उनले राजधानी बाहिर बसेरै साहित्य तथा गीत–संगीतको क्षेत्रमा आफूलाई सफलतापूर्वक स्थापित गरेका थिए।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकारसमेत रहेका नन्दनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नारायणी कला मन्दिरमा राखिनेछ। आजै देवघाटमा उनको अन्त्येष्टि गरिने जनाइएको छ।
गजलमा दोहोरी फर्काउने दुर्लभ क्षमता भएका नन्दनले गीत, कविता, लघुकाव्यलगायतका विविध साहित्यिक विधामा सशक्त कलम चलाएका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनलाई ‘गोलसिमल’ को उपमा दिएका थिए।
उनका गीतहरूमा नातिकाजी, गोपाल योञ्जन, शम्भुजित बाँस्कोटाजस्ता चर्चित संगीतकारले संगीत भरेका छन् भने आशा भोस्ले, सुरेश वाडकर, नगत अजीज, उदित नारायण, प्रेमध्वज प्रधान, शिवशंकर, प्रसाद श्रेष्ठलगायतका ख्यातिप्राप्त गायिका-गायकले स्वर दिएका छन्।
‘कान्छी सन्तान’, ‘मोहनी’, ‘अवला’, ‘मानिस’, ‘कर्जा’ जस्ता नेपाली चलचित्रका उनका गीतहरू अत्यन्त लोकप्रिय बनेका थिए।
उनका प्रकाशित कृति मध्ये झटारो, अञ्जली, सपनीबाट ब्यूँझेर, विपनीका पाइलाहरू, ऐनाभित्रको आकाश (गीतिसंग्रह), सिद्धार्थको गृहत्याग (लघुकाव्य), र पत्रम् पुष्पम् (कविता संग्रह) प्रमुख छन्।
नन्दनले आफ्नो योगदानका लागि छिन्नलता गीत पुरस्कार (२०५४), चिसाप प्रतिभा पुरस्कार (२०५२), चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार (२०६४), नारायणी प्रज्ञा पुरस्कार (२०७८), राष्ट्रिय स्रष्टा सम्मान (२०७७) लगायतका सम्मान प्राप्त गरेका थिए।
उनी श्रीमती, तीन छोरा र तीन छोरीसहित ठूलो परिवार छोडेर गए।

























