काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता तत्काल असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको विषयमा प्राधिकरण लामो समयदेखि अलमलिएको आरोप लगाउँदै बक्यौता असुली प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरे।
उनले भने, “प्राधिकरणले विद्युत मात्र उत्पादन होइन, महशुल संकलन र सुरक्षित ढंगले प्रवाह गर्न सक्ने क्षमता पनि बढाउनुपर्छ।”
ऊर्जा क्षेत्रलाई मुलुक समृद्ध बनाउने प्रमुख माध्यमका रूपमा सरकारले हेरेको उल्लेख गर्दै मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताए। उनले ऊर्जा विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ पुगेको जानकारी दिए।
उनका अनुसार, सोही वर्ष प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष प्रणालीमा ४३४ मेगावाट विद्युत थपिएको र देशभर औसत ५९५ घण्टा विद्युत ट्रिप भएको जानकारी दिंदै, आगामी वर्षमा यो समय घटाउने प्रयास भइरहेको उनले बताए।

























