पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक प्रभाव अस्थायी भएको टिप्पणी गरेका छन्। उनले रास्वपालाई बर्खे खहरेको बाढीसँग तुलना गर्दै, ‘एउटा बर्खा नसकिँदै खहरे सुक्छ, कमिला हिँड्न थाल्छ’ भन्दै अब रास्वपा हराउँदै जाने दाबी गरे।
नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले विरोधकै भरमा राजनीति नगर्न रास्वपालाई सुझाव दिए। उनका अनुसार, दृष्टिकोण, एजेन्डा र गन्तव्यबिना राजनीति गर्नु मुलुकमा अस्थिरता निम्त्याउने काम हो ।
पौडेलले नेकपा एमाले र नेपाली कांग्रेसलाई देश र जनताको हितमा काम गर्ने दलका रूपमा उल्लेख गर्दै हालको गठबन्धन सरकार सहमति अनुसार अगाडि बढिरहेको बताए। उनले भने, ‘सरकार ढल्छ भनेर सपना नदेख्नुस्, यही सरकारले देशको भविष्य निर्माण गर्छ।’
उनले मुलुकको स्थायित्वका लागि नेकपा माओवादी केन्द्रले अस्थिरताको बाटो छोडेको उल्लेख गर्दै अब अस्थिरताको दिन सकिएको बताए।
























