काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टीभित्र कुनै पनि गुट न रहेको दाबी गरेका छन् ।
प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पूर्ण रूपमा एकताबद्ध रहेको बताए ।
उनले वर्तमान सरकार एमाले र नेपाली कांग्रेसको गठबन्धनमार्फत गठन भएको उल्लेख गर्दै आगामी निर्वाचनसम्म यही सरकार कायम रहने स्पष्ट पारे ।
भट्टराईका अनुसार, देशमा उत्पन्न विषम परिस्थितिका कारण एमाले नेतृत्वमा सरकार गठन भएको हो । उनले सरकारको कामको मूल्याङ्कन गर्दै अर्थतन्त्रमा सुधार, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, कानुनी सुधार तथा विकास निर्माणमा तिव्रता आएको बताए ।
उनका अनुसार सरकारले थुप्रै आर्थिक ऐन संशोधन गरेको छ भने केही नयाँ कानुन पनि बनाएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने प्रावधानहरूलाई संशोधन गरेर लगानीमैत्री वातावरण बनाइएको दाबी पनि उनले गरे ।
संविधान संशोधनको सन्दर्भमा भट्टराईले स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताएका छन् । साथै, उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने र संवैधानिक आयोगहरूको संख्या घटाउने पक्षमा आफू रहेको बताए ।
उनले ताप्लेजुङमा सञ्चालनमा रहेका वा प्रस्तावित ठूला विकास आयोजना कुनै पनि हालतमा अवरोध हुन नहुनेमा जोड दिएका छन्।
























