
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन् । भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई आगामी भदौ ३१ देखि असोज १ सम्म भारत भ्रमणका लागि प्रस्ताव गरेको भए पनि भ्रमणको मिति औपचारिक रूपमा तय भइसकेको छैन ।
मिश्रीले आफ्नो नेपाल बसाइका क्रममा राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव लगायत उच्च पदस्थ व्यक्तिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार स्वदेश फर्कने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, मिश्रीको भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विविध पक्षहरू, कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक हितका विषयमा दुई देशका परराष्ट्र सचिवबीच छलफल हुने छ ।
























