काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने उद्देश्यले उनी नेपाल भ्रमणमा आएका हुन । मिश्री भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनले सर्वप्रथम नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन् । राईकै निमन्त्रणामा मिश्री नेपाल आएका हुन् । आजै उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनेछन् । ओली भदौ ३१ मा भारत जाने तयारीमा छन् ।
मिश्रीको भ्रमणमा नेपाल–भारतबीचको साझेदारीका विविध पक्षमा छलफल हुने छ। साथै, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका एजेण्डा तय गर्न द्विपक्षीय तयारीहरू पनि हुने जनाइएको छ। प्रधानमन्त्री ओली १४ महिनाअघि सत्तामा पुनः फर्किएपछि भारतको पहिलो भ्रमण हुन लागेको हो ।

























