काठमाडौँ, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओली भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन् । चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ दोस्रो साता भ्रमणमा जान लागेका हुन् ।
जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् ।
चीनमा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी चिनफिङका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीको १४–१८ भदौमा हुने भ्रमणमा सी र मोदीसँग संयुक्त भेटका लागि पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो ।
यसअघि गत वर्ष ओलीले प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । चीनमा हुने यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
























