काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाएका व्यक्तिहरूलाई लक्षित गरी ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाका सभापति रवि लामिछानेको नाम नलिई सबै थुनामा रहेका व्यक्तिमाथि प्रतिशोध भएको हो कि भनी प्रश्न गरे।
ओलीले भने, “एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो? सरकारले भनेजसरी नै अदालत चलेको हो त?”
उनले सहकारीमा भएको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि मुद्दा चलेको र अदालतले पूर्वमन्त्री, पूर्वसांसद र बहालवाला मेयरलगायत दर्जनौँलाई थुनामा पठाएको बताए। प्रधानमन्त्री ओलीले भीडको पछि लागेर न्यायको हत्या गर्न खोज्नेहरूबाट सधैँ जवाफ मागिने बताए।
“भीडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैँ माग्नेछ,” उनले भने। “यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्रै होइन, दया लाग्ने खालको छ।”
























