काठमाडौं, साउन २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप छ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टा गरी मोहीको नाममा प्रमाण पुर्जा बनाइदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस माग गरेका थिए। अख्तियारको टोलीले अनुसन्धानका क्रममा आचार्य र राउतलाई घुस रकमसहित पक्राउ गरेको थियो। बरामद भएको २४ लाख ५० हजार रुपैयाँ राउतले लिएको र यो काम आचार्यकै योजनामा भएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो।

























