काठमाडौं, साउन २८ । काठमाडौंमा भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा राप्रपाका दुई समूहबीच हात हालाहाल भएको छ। विवाद यति बढ्यो कि कार्यक्रम नै स्थगित गर्नुपर्यो।
अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा उद्घाटन समारोह सुरु हुनै लाग्दा लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच भनाभन भएको थियो। यसले उग्र रूप लिँदै मञ्चमै हात हालाहालको स्थिति सिर्जना भयो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।
काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको असन्तुष्ट पक्षको दाबी छ । निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको संस्थापनइतरको भनाइ छ ।
जिल्ला अधिवेशन विधानसम्मत गर्नुपर्ने महामन्त्री डा. धवलशमशेर राणा पक्षको माग छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधिवत गठन भएका स्थानीय तहका समिति वा अधिवेशन सम्पन्न भएका समिति मात्र कायम गरिनुपर्ने संस्थापनइतर पक्षको माग छ ।
हात हालाहाल भएपछि लिङ्देनले अधिवेशन स्थलमा नै शान्त रहन र अनुशासन कायम गर्न आग्रह गरे। उनले होहल्ला गर्नेहरूलाई पार्टीले टुलुटुल हेरेर नबस्ने चेतावनी पनि दिए। तर, पनि विवाद नघटेपछि र राणा पक्षका युवाहरूले लिङ्देनविरुद्ध नाराबाजी गरेपछि अधिवेशन कार्यक्रम स्थगित भएको घोषणा गरियो।
अहिले अधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने पार्टीका नेताहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
अध्यक्ष लिङदेनले अधिवेशन स्थगित भएको बताए पनि महामन्त्री राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेको छ ।
अध्यक्ष लिङदेन हिँडिसकेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो ।

























