काठमाडौं, साउन २७ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले संघीय निजामती सेवा विधेयकमा हस्ताक्षर गरेका कारण जिम्मेवारी लिने निर्णय गरेका बताए। “विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो,” खतिवडाको भनाइ थियो।
उक्त विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई कमजोर पार्ने गरी भाषा समावेश गरिएको भन्दै खतिवडाको आलोचना हुँदै आएको थियो। यस विषयमा संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले २७ दिनको अनुसन्धानपछि साउन २० गते बुझाएको प्रतिवेदनमा खतिवडालाई जिम्मेवार ठहर गरिएको थियो।
राजीनामा दिनुअघि खतिवडाले सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतसँग भेटघाट गरेका थिए।
























