काठमाडौं, साउन २७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।
झाले करिब एक महिना अघि नै राजीनामा दिएको जानकारी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले दिएका हुन् । उनका अनुसार झाको राजीनामा स्वीकृत भइसकेको छ ।
पछिल्लो समय पार्टी गतिविधिमा निष्क्रिय रहेका झा पार्टीका बैठकहरूमा सहभागी हुन छाडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले झाले पाँच–छ महिनादेखि बैठकमा नआएको बताएका छन् । “उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको पाँच/छ महिनाजति भयो,” चौधरीले भने, “पार्टीलाई औपचारिक जानकारी नभएपछि मलाई पनि थाहा हुने अवस्था थिएन ।”
झा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। त्यसपछिको कार्यकालमा उनी खानेपानी मन्त्रीसमेत बनेका थिए। तर, २०७९ सालको आम निर्वाचनमा उनी पराजित भएका थिए।
यससँगै लोसपाभित्रको आन्तरिक असन्तोष पुनः सतहमा आएको छ ।
























