काठमाडौं, साउन २६ । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा देखिएको त्रुटीका सन्दर्भमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सक्रिय पहल थालेका छन्।
सोमबार सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरेर राज्य व्यवस्था तथा सुशासन समितिको कामलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। साथै, समितिमा विचाराधीन रहेका केही महत्त्वपूर्ण विधेयकलाई छिटो निष्कर्षमा पुर्याउन दलहरूलाई साझा धारणा बनाउन आग्रह गरिएको छ।
राज्य व्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन सहसचिव कान्छा दुलाललाई नयाँ सचिवको जिम्मेवारी दिइएको छ। छलफलमा सभामुखले समितिको कार्य अब धेरै समय रोक्न नसकिने स्पष्ट पारेका थिए।
यसअघि, सभामुखले शुक्रबार कानून महाशाखाका सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखाका प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरिसकेका छन्।
प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढाउने उद्देश्यसहित सभामुखले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग पुनः छलफल गर्ने कार्यक्रम तय गरेका छन्।
























