
काठमाडौं, साउन २६ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, जो प्रतिष्ठानका प्रमुख संरक्षक समेत हुन्, उनले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ज्ञवालीलाई शपथ गराएका हुन ।
कार्यक्रममा उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ ग्रहण गरे ।
शपथपछि बोल्दै ज्ञवालीले प्रतिष्ठानले ३१ वर्षदेखि मदन भण्डारी र जीवराज आश्रितको विचार र योगदानलाई स्थापित गर्न निरन्तर काम गर्दै आएको उल्लेख गरे । “उहाँहरूको विचारलाई स्थापित गर्ने धेरै उपाय छन्, ती विषयमा प्रतिष्ठानले निरन्तर पहल गरिरहेको छ,” उनले भने ।
ज्ञवालीका अनुसार प्रतिष्ठान अब चार प्रमुख कार्यक्षेत्रमा केन्द्रित हुनेछ । उनले विशेष गरी वैचारिक प्रशिक्षणलाई प्राथमिकतामा राख्ने बताउँदै, एमालेको केन्द्रीय स्कुल विभाग र प्रतिष्ठानबीच समझदारी अनुसार जबज स्कुल सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार स्कुल सञ्चालनका लागि भवन पुनर्निर्माण भइसकेको छ र विधान महाधिवेशनपछि स्कुल नियमित रूपमा सञ्चालन हुनेछ। “यो स्कुल वैचारिक रूपमा दक्ष नेता र कार्यकर्ताहरू तयार गर्ने थलो बन्नेछ,” उनले स्पष्ट पारे ।
ज्ञवालीले प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउँदै समाजमा मदन–आश्रितको विचार र योगदानलाई थप संस्थागत रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
























