२६ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण रुपन्देहीस्थित भैरहवा कारागारमा छन्। कारागारमा उनको मौलिक अधिकारसमेत हनन् भएको भन्नेबारे समाचारहरू सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार स्थलगत अनुगमन गरेको छ।
आयोगका प्रतिनिधिले लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाईउडले बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।
आयोगकी आयुक्त प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।
यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।
‘कैदीबन्दी राखेपछि उसको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ। हावा नजाने कोठामा राखेर हुँदैन। सुरक्षाका कारण बन्द गरिएको भनिएको छ। कैदीबन्दीको जिम्मा सरकारले राख्नुपर्छ। त्यो नभएको पायौँ,’ रविलाई भेटेर फर्किएकी थापाले भनिन्, ‘उहाँले आफ्नो अधिकार पाउनु भएको छ छैन भन्ने चासो लिएर निरीक्षण गरियो । बाहिर आएर स्वच्छ हावा लिन पाउने, पत्रपत्रिका पढ्न पाउने कुरा छ त्यसमा मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आफूहरू झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको छ ।’
























