काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच करिब डेढ घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ ।
पार्टी एकताको पहलका लागि सक्रिय रहेका श्रेष्ठ आइतबार खनाललाई भेट्न डल्लुस्थित निवास पुगेका थिए। पछिल्लो केही दिनयता उनी विभिन्न वाम नेताहरू भेट्दै आएका छन्। यसअघि श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा नेकपा (एस) का महासचिव घनश्याम भुसालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
श्रेष्ठ र खनालबीचको छलफलमा विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिस्ट र समाजवादी आन्दोलन, साथै नेपालको वर्तमान राजनीतिक अवस्था र वामपन्थी शक्तिबीचको सहकार्यबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटी बैठकबाट पारित पार्टी एकता प्रस्तावबारे जानकारी गराउँदै खनालसँग अपील गरेका थिए। जवाफमा खनालले पनि वामपन्थी शक्तिबीच सहकार्य र एकताको पक्षमा आफू रहेको धारणा व्यक्त गरेका थिए।
तर खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भेटमा दुई पार्टीबीच मात्रै केन्द्रित भएर एकताको कुरा भने भएको थिएन।
दुई नेताबीच नेपालको राजनीतिक परिवर्तनको रक्षा गर्दै समृद्धि र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न वामपन्थी, कम्युनिस्ट र देशभक्त शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेकोमा सहमति बनेको जनाइएको छ।

























