काठमाडौँ, साउन २५ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा आज बिहान भएको गम्भीर सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने उनका पति गम्भीर घाइते भएका छन् ।
बिहान करिब ५ बजे तामाकोसी नदी किनारमा बीएसी ९४६३ नम्बरको स्कारपियो गाडी सडकबाट खस्दा मन्थली नगरपालिका–१ की ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।
दुर्घटनामा उनका पति, ५० वर्षीय उत्तम चौहान गम्भीर घाइते अवस्थामा भेटिएका छन्। चौहानले आफैं गाडी चलाइरहेका बेला दुर्घटना भएको हो।
गाडी भिरमा अड्कियो, उद्धार कठिन
गाडी सडकबाट तल खसेर भिरमा अड्किएको थियो, जसका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
‘गाडी करिब ३०० मिटर तल खसेको थियो,’ डीएसपी भट्टले भने, ‘राधाको शव भेटिएको ठाउँमा गाडीका केही पार्टहरू मात्र देखिएको छ। गाडीको मूल हिस्सा तामाकोसी नदीमै खसेको अनुमान गरिएको छ।’
निकै प्रयासपछि राधाको शव भिरबाट निकालिएको र घाइते उत्तम चौहानलाई रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला चौहान दम्पती सदरमुकाम मन्थलीबाट हेटौंडा बसोबास गर्ने छोरालाई भेट्न निस्किएका थिए। गाडीबाट उत्तम चौहान उछिट्टिएर सडकछेउमै अड्किएकाले उनी गम्भीर घाइते मात्र भएको र श्रीमती भने गाडीबाट तलसम्मै खसेर मृत्यु भएको प्रारम्भिक अनुमान छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























