काठमाडौं, साउन २३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीको विरुद्धमा सार्वजनिक टिप्पणी गरेकोप्रति असन्तुष्टि जनाउँदै भने, ‘मिडियामा गएर पार्टीको आलोचना गर्ने, विद्रोहको औचित्य छैन भन्ने हो भने एमालेमै बस्दा हुनेथियो, ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो नि।’
उनले पार्टीको प्रतिष्ठा जोगाउन, अनुशासन पालन गर्न र सामूहिक हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । आफूहरुले विद्रोह गर्दै नयाँ पार्टी गठन गर्नुका कारण बारे उनले स्पष्ट पारे, ‘हामीले रहरले पार्टी छोडेका होइनौं, संविधान जोगाउन र कम्युनिष्ट आन्दोलनलाई बद्नाम हुनबाट बचाउन बाध्य भएका थियौं ।’
अध्यक्ष नेपालले नेकपा (एस) को गठन आवश्यक र उचित निर्णय भएको दाबी गर्दै, संविधानको रक्षाका लागि लिएको कदमलाई न्यायोचित भएको दावी गरेका छन् ।



















